काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बुधवार साँझ नेकपा स्थायी समितिका बहुसंख्यक सदस्यहरुको ललितपुर स्थित झम्सीखेलमा रहेको अगेनो होटलमा आयोजित प्रचण्ड-नेपाल समुहको भेलामा उनले यस्तो बताएका हुन् ।
असार १० गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकमा पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुलाई भारतको दलालका रुपमा चित्रण गरे पछि उनीसँग नेताहरु रुष्ट भएका हुन् ।
ओली पक्षधरको आरोप लागिरहेको सन्दर्भमा नेता बादलको यो अभिव्यक्तिले उनलाई ओली विराेधी कित्तामा पुर्याईदिएको छ । झम्सीखेल बैठकमा पहिलो पटक गृहमन्त्री थापा पनि प्रधानमन्त्री ओली विरूद्ध भेलामा सहभागी भएका हुन् ।
भेलामा आफ्नो विचार राख्ने क्रममा गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीले पार्टी र सरकारको तर्फबाट सही नेतृत्व दिन नसकेकाले तत्काल उनको विकल्प खोज्नुपर्ने बताएका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
पछिल्लो समय प्रधानमन्त्री ओली निकट भनेर चिनिएका गृहमन्त्री बादल समेत झम्सीखेल बैठकमा गएपछि सचिवालयमा ओलीसँग अब दुईजना मात्र सदस्य कायम रहने भएका छन् ।
३१ जना स्थायी समिति सदस्यहरुको प्रम ओली विरुद्ध आगामि रणनीतिका बारेमा आयोजित उक्त भेलामा सचिवालयका सदस्यहरुले ओलीले पार्टी दर्ताका लागि पठाएका प्रमाणका विषयमा पनि छलफल भएको बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया