श्रावण ११, २०८३ सोमबार July 27, 2026

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

गायक बुढाथोकीको निर्देशनसँगै कथा लेखन रहेको चलचित्रमा पटकथा र संवाद शिवम अधिकारीको रहेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ कात्तिक : बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ तयार गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्दार गरेर गायनसम्ममा साथ दिनुभएका सङगीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गर्नुभएको चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।

गायक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम, आफूमाथी लागेका केही आरोपको यर्थाथतालाई समेटेर चलचित्रको कथा तयार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उहाँकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ तर मूलभूत घटनाक्रम उहाँकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरन्जन पनि दिन्छ ।”

imgगायक दर्जी हाल कक्षा नौ मा अध्ययनरत रहेकाले चलचित्रका रुपमा यो उमेरका लागि यही पहिलो र अन्तिम हुने उहाँले बताउनुभयो । उक्त चलचित्रमा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धी तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

गायक दर्जीले गायक बुढाथोकीकै कारण आफूले शिक्षा र साङ्गीतिक वातावरण पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“मलाई सडकबाट ल्याएर गायक बनाइदिनुभयो । म यसरी चिनिनु गायक बुढाथोकी कै देन हो । यो कथाले मेरो सङ्घर्ष देखाएर प्रेरणा पनि दिन्छ । म जस्ता सडक बालकलाई सपना देखाउन र गन्तव्यमा पुर्याउन सायद अन्य कसैलाई प्रेरित गर्यो भने त्यो ठूलो उपलब्धी हुनेछ । सडकमा हिड्ने बालकलाई आफ्नै परिवारको सदस्य बनाउनुभएका गायक बुढाथोकी बारे म शब्दले केही भन्न सक्दिन ।”

गायक बुढाथोकीको निर्देशनसँगै कथा लेखन रहेको चलचित्र ‘मन विनाको धन’ मा पटकथा र संवाद शिवम अधिकारीले लेख्नुभएको छ । चलचित्र यही कात्तिक २१ देखि नेपालसँगै विदेशका केही स्थानमा प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया