बैसाख २९, २०८३ मंगलबार May 12, 2026

संसद् अधिवेशनको पहिलो दिनमै विपक्षीको अवरोध

कांग्रेस, एमाले र नेकपा संसद्को सानो कुनामा सीमित भए पनि झण्डै दुई तिहाइको शक्तिशाली सरकारको लागि भारी बन्ने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई विपक्षी दलहरूले घेराउ गर्ने रणनीति बनाएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट रास्वपाले झण्डै दुईतिहाइ मत (१८२) पाउँदा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसद्मा सानो दलको हैसियतमा खुम्चिएका छन् । मुलुकमा गणतन्त्र स्थापनापछि शासनसत्तामा हालीमुहाली गरेका तीनै दल अहिले विपक्षी कित्तामा छन् । तर, संसदीय खेलमा पोख्त कांग्रेस, एमाले र नेकपा संसद्को सानो कुनामा सीमित भए पनि झण्डै दुई तिहाइको शक्तिशाली सरकारको लागि भारी बन्ने संकेत गरेका छन् । त्यसको संकेत विपक्षी दलहरूले सोमबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमै देखाएका छन् ।

सोमबारदेखि सुरु भएको प्रतिनिधिसभाको वर्षे अधिवेशनको पहिलो बैठकमा नै विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै चर्को विरोध जनाएका छन् । उनीहरूले सरकारले ल्याएको अध्यादेश र अव्यवस्थित-सुकुम्बासी बस्ती हटाउने कार्यप्रति चर्को असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाएका थिए । विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डिपी अर्यालले आकस्मिक समय उपलब्ध गराउनुभएको थियो ।

अध्यादेशको दफा दफामा जवाफ खोज्छौँ : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले सरकारले ल्याएका अध्यादेशका दफा–दफामा जवाफ खोज्ने र सरकारलाई हाइसञ्चो मानेर बस्न नदिने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा धारणा राख्ने क्रममा सचेतक राईले दुईतिहाइ नजिकको शक्तिशाली सरकार सदनसँग डराएर अध्यादेशको बाटो हिँडेको टिप्पणी गर्दै भन्नुभयो, ‘अध्यादेश ल्याउनै नहुने भन्ने हाम्रो भनाइ होइन । तर, अध्यादेश संसद्को भावना र आवश्यकताअनुसार आउनुपर्छ । सत्ता सहजताको साधन बन्न हुँदैन । अहिलेको अध्यादेश त्यसअनुकूल छैन । जसको दफा दफामा हामी सदनमा जवाफ खोज्नेछौँ, सरकारलाई हाइसञ्चो मानेर बस्न दिँदैनौँ ।’ ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित तीनजना सदस्यको निर्णय कसरी बहुमत पुग्नसक्छ भन्दै सचेतक राईले सरकारलाई प्रश्न गर्नुभएको छ । सचेतक निष्कल राईले प्रतिनिधिसभा नियमावली मस्यौदाप्रति आपत्ति जनाउनुभएको छ ।

सरकारलाई एमालेको प्रश्नैप्रश्न

विपक्षी दल नेकपा एमालेले सरकारको कार्यशैलीमाथि प्रश्नैप्रश्न उठाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको हो । देश अहिले बहुमतको निरंकुशताको संघारमा रहेको टिप्पणी गर्दै सांसद अर्यालले भन्नुभयो, ‘हिजो अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको निर्मम आघात भन्ने, यही सदन तताउनेहरू आज स्वयं त्यही बाटोमा निर्धक्क हिँडिरहनु भएको छ । यो राजनीतिक विवेकको परिपक्वता हो कि सत्ता सुविधाअनुसार बदलिएको नैतिकता ? जनताले यसलाई रूपान्तरण भनेर बुझ्ने कि निर्लज्जताको पराकाष्ठा भनेर बुझ्ने ? के नयाँ सोच भनेको संसद्लाई पन्छाएर कार्यपालिकाको स्वेच्छाचारी शासन लाद्ने सोच हो ?’ सांसद अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि सरकारले डोजर आतंक मच्चाएको आरोप पनि लगाउनुभएको छ ।

नेकपाको प्रश्न- ‘सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?’

विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सुकुम्बासी बस्तीमा डोजर लगाउने, संवैधानिक परिषद्मार्फत प्रधानन्यायाधीश सिफारिशमा सरकारी कार्यशैली लोकतन्त्रविपरीत भएको भन्दै सरकारको जवाफ माग गर्नुभएको हो । सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउँदै प्रमुख सचेतक दुलालले भन्नुभयो, ‘डोजर आतंक देखाइएको छ । इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? रुल अफ ल को नारा दिएर बनेको सरकारले रुलबाहिर गएर सत्ता चलाइरहेको छ । यो लोकतन्त्रको उन्नततर्फको पाइला हो वा निरंकुशतातर्फ गएको हो ?’ प्रधानन्यायाधीश सिफारिशतर्फ संकेत गर्दै दुलालले संवैधानिक परिषद्मा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य हुँदैन ? भन्दै प्रश्न गर्नुभयो । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईसीसी विश्वकप लिग २ क्रिकेट : स्कटल्याण्डसँग नेपाल २ रनले पराजित
२०८३ बैसाख २९, मंगलबार
नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
२०८३ बैसाख २९, मंगलबार
पाकिस्तानमा तीन महिनामा ३७० जनाभन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ
२०८३ बैसाख २९, मंगलबार
शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण
२०८३ बैसाख २९, मंगलबार
कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यकः मुख्यमन्त्री यादव
२०८३ बैसाख २९, मंगलबार
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
२०८३ बैसाख २९, मंगलबार
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत
२०८३ बैसाख २९, मंगलबार