अमेरिकाको चम्किलो सपना बोकेका नेपाली युवाको अन्धकारमय यथार्थ छ । विदेश गएर परिवारको भविष्य बनाउने सपना बोकेका नेपाली युवा अहिले दलालहरूको जालोमा फसेर मानव तस्करीको सिकार बन्न थालेका छन्।
‘तल्लो बाटोबाट अमेरिका पुर्याउने’ नाममा गाउँका सोझासीधा परिवारबाट लाखौंदेखि करोडौं रुपैयाँ असुल्ने गिरोह सक्रिय हुँदा धेरै परिवारको सपना आँसुमै डुबिरहेको छ । अहिले मात्रै नभई पहिल्यैबाट गाउँ–गाउँमा अमेरिका जाने सपना बेच्ने दलालहरूको जालो बढिरहेको छ।
त्यसो त, गरिबी, बेरोजगारी र विदेशप्रतिको मोह बोकेका सोझासीधा युवा तल्लो बाटोबाट अमेरिका पुगिन्छ भन्ने दलालको प्रलोभनमा नपर्ने कुरै भएन । हिँडेरै अमेरिका पुगिन्छ भन्ने सोचले युवाहरूले पनि लाखौंदेखि करोडौं रुपैयाँ असुल्ने दलालहरूलाई झन् धेरै हौसला दिने गरेका छन् तर त्यो सपना धेरै युवाका लागि अहिले यातना, बेचबिखन तथा तस्करी र बन्धक जीवनको दुःखद बन्न थालेको छ।
बाँकेको कोहलपुरका २६ वर्षीय युवक अमेरिका जाने प्रलोभनमा मानव तस्करीको जालोमा परेका छन् । उनलाई अमेरिकाको मोह देखाएर दुईचार लाख रुपैयाँ त केही होइन, अमेरिका पुगेमा त्यति पैसा केही महिनामै कमाइन्छ भन्ने दलालले भ्रममा पारेका थिए । त्यही दलालको मिठो बोलीमा ती युवक फसे । त्यसपछि उनी अमेरिका जाने भन्दै दलालले भनेबमोजिम गर्न थाले।
मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिन आएका उनका परिवारका अनुसार सुरुमा दलालहरूले ‘अमेरिका पुर्याइदिन्छौं, राम्रो कमाइ हुन्छ’ भन्दै १७ लाख रुपैयाँ लिएका थिए । घरघरमै आएका ती दलालले अमेरिकामा राम्रो आम्दानी हुन्छ भन्दै नेपालदेखि भारतलगायत विभिन्न देश हुँदै अमेरिका पुगिन्छ भनी दलालको मुठीमा पारिएको ती युवकका पिताले सुनाए।
‘मेरो छोरा अमेरिका पुगेर घरको अवस्था फेरिन्छ भन्ने ठानेको थिएँ’, ऋण गरेर दलाललाई दिएको रकम फिर्ता गर्न ब्युरो आएका पीडित युवकका पिता भन्छन्, ‘अमेरिकी सपनाले घर न घाट बनायो।’
यही एउटा आशाले गाउँका सोझासीधा युवकदेखि बाआमा आज पनि साहुको ऋण बोकेर, खेतबारी बेची, सुन धितो राखेर दलालको झोली भरिरहेका छन् तर अमेरिकाको सपना देखाइने त्यो बाटो अहिले धेरै नेपाली युवकका लागि मृत्यु, यातना र मानव तस्करीको अन्धकारतर्फ मोडिएको छ।
युवकका पिताका अनुसार छोरा अमेरिका गएपछि घरको आर्थिक अवस्था धेरै राम्रो हुन्छ भन्ने सोच थियो, तर सोचेको सबै पूरा नहुने रहेछ । छोरा अमेरिका हिँडेको केही दिनमै परिवारको मोबाइलमा आएको एउटा भिडियो कलले सबैको मुटु चिरिएको उनी स्मरण गर्छन्, ‘भिडियो कलमा आफ्नै छोरो रोइरहेको थियो । उसको शरीर थाकेको जस्तो पूरै अनुहार डरले भरिएको थियो।’
पीडित भएका छोराको भनाइ उद्धृत गर्दै पिताले, ‘बुबा मलाई बेचिएको रहेछ । ती दलालले कोठामा थुनेर राखेका छन् । खाना पनि राम्रोसँग दिएका छैनन् । मलाई बचाउनुहोस्।’
पीडितका पिताका अनुसार छोरालाई दिल्ली हुँदै जर्मनी र त्यसपछि ब्राजिल पुर्याइएको थियो । त्यहाँ पुगेपछि उनलाई बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिइएको उनका पिताले आरोप लगाएका छन्।
पीडितका बुबाले अनुसन्धान ब्युरोमा भने, ‘छोराले भिडियो कल गरेर मलाई बेचियो भनेपछि हाम्रो परिवार नै भत्कियो । उसलाई बचाउन धेरै कोसिस ग¥यौं । दलालहरूले पैसा पठाए छाडिदिन्छौ भनेपछि हामीले ऋण खोज्यौं, आफन्तसँग हात फैलायौं र विभिन्न दलालको बैंक खातामा भनेबमोजिमको लाखौंलाख रकम हाल्यौं।’
अमेरिका जाने प्रलोभनमा परेका ती परिवारले छोरालाई बचाउने आशामा पटकपटक गरी करिब ९७ लाख रुपैयाँ विभिन्न व्यक्तिको खातामा पठाएको ब्युरोलाई प्रमाणसहित पेस गरेका छन् । पीडितका पिताले आवाज काँप्दै भने, ‘हामीलाई अमेरिका देखाएर सबै कुरा लुटियो । छोराको ज्यान बचाउन खोज्दा घरबारै सकियो।’
विदेश जाने रहर बोकेका नेपाली युवालाई अहिले दलालहरूले ‘सपना’ होइन, ‘सामान’ जस्तो व्यवहार गर्न थालेको उनी बताउँछन्।
‘अमेरिका सपनाका नाममा आखिर कति नेपाली युवा अझै बेचिनुपर्ने हो ? गरिबीको पीडामाथि दलालहरूको यो व्यापार कहिलेसम्म चलिरहने हो?’, ती पीडित युवकका पिताले भक्कानिँदै भने।
गाउँका अशिक्षित र गरिब परिवारको कमजोरी प्रयोग गरेर मानव तस्करीको जालो दिनदिनै फैलिरहेको छ । देशमा बेरोजगारी, गरिबी र विदेशप्रतिको बढ्दो आकर्षणलाई आधार बनाएर दलालहरूको संगठित सञ्जालले गाउँका युवकलाई ‘तल्लो बाटोबाट अमेरिका’ लैजाने नाममा लाखौंदेखि करोडौं रुपैयाँ असुलिरहेका छन्।
कसैलाई ब्राजिलको जंगलमा अलपत्र पारिएको छ, कसैलाई बन्दुक देखाएर काम गर्न बाध्य बनाइएको छ, त कसैको परिवारलाई ‘अझै पैसा पठाए अमेरिका पुर्याउँछौं’ भन्दै आश्वासन दिनेलगायत धम्क्याउने गरेको घटना पनि यत्रतत्र छरिएका छन् । ब्युरोमा यस्ता उजुरी दिन आउने पीडित परिवारका आँखा हेर्दा विदेश जाने सपना कम र पीडा बढी भएको देख्न सकिन्छ।
त्यस्तै गाउँघरमा खेतीपाती गरेर जसोतसो परिवार चलाउँदै आएका रुकुमका ३२ वर्षीय अर्का युवा पनि तल्लो बाटोबाट अमेरिका पुर्याउने दलालको जन्जालमा परेका छन् । अमेरिका जाने सपना पछ्याउँदा उनले पनि ५७ लाख रुपैयाँ दलालबाट ठगीमा परेपछि ब्युरोमा उजुरी दिन पुगेका थिए।
गरिबीबाट परिवारलाई माथि उकास्ने ठुलो आशामा उनले दलालको कुरा पत्याए । अमेरिका पुगेपछि जीवन बदलिन्छ भन्ने सपना उनको थियो तर त्यो सपना अन्ततः मानव तस्करीको डरलाग्दो जालोमा परिणत भयो।
ब्युरोमा उजुरी दिन पुगेका युवाका अनुसार गाउँमै चिनजान भएकी एक महिलाले उनका श्रीमान् काठमाडौंमा बसेर अमेरिका पठाउने काम गर्ने भन्दै चिनाइदिएकी थिइन् । पछि ती व्यक्तिले भिसा मिलिसकेको छ । काम पक्का हुन्छ । अहिलेसम्म पठाएका मानिसहरू अमेरिका पुगिसकेका छन् भन्ने यावत् प्रलोभनमा आफू परेको पीडितले बताए।
त्यसपछि पीडितले ऋण सापटी गरेर विभिन्न समयमा विभिन्न बैंक खातामा गरी ५७ लाख रुपैयाँ बुझाएको ब्युरोमा प्रमाणसहित उजुरी दिएका छन्।
दलालहरूले सुरुमा उनलाई भिसा आएको भन्दै दुबई पठाएका थिए, तर दुबई पुगेपछि उनको सपना भत्कन थाल्यो । पीडितका अनुसार विमानस्थलमै उनलाई लिन आएका भारतीय र पाकिस्तानी नागरिकले अपार्टमेन्टमा लगेर राहदानी र मोबाइल खोसियो । त्यसपछि सुरु भयो उनको बन्धक जीवन।
उनी भन्छन्, ‘कोठा सफा गर्न, भाँडा माझ्न, खाना बनाउन जबर्जस्ती लगाउँथे । नमाने शारीरिक र मानसिक यातना दिन्थे । बिचबिचमा अझै प्रक्रिया बाँकी छ भन्दै परिवारसँग थप रकम माग्न लगाइन्थ्यो ।’ यसरी आफूलाई करिब सात महिनासम्म बन्धक बनाएको उनको आरोप छ।
परिवारसँग पैसा माग्दै दलालहरूको बैंक खातामा हालिदिएपछि सिरिया भन्ने देश पुर्याएको उनको अनुभव छ । त्यहाँ पुगेपछि पनि आफू बन्धक भएको उनको दुखेसो छ । महिनौंसम्म अलपत्र पारेपछि पनि दलालहरूले पटकपटक ‘अब अमेरिका उड्ने पक्का भयो’ भन्दै विश्वास दिलाएको उनी सम्झन्छन्। ‘अब अन्तिम प्रक्रिया हो । बाँकी अरू पैसा परिवारलाई जम्मा गर्न लगाऊ’, दलालको भनाइ उद्धृत गर्दै ब्युरोमा पीडित युवकले भने।
अझै उनको ऋण थपिँदै थियो । उनी आफू ऋणको चपेटामा चुर्लुम्म डुबेको पनि महसुस गर्दै थिए । त्यसपछि उनले साँच्चै अमेरिका पुग्ने आशा गरेका थिए, तर केही दिनपछि एजेन्ट सम्पर्कविहीन भएपछि अमेरिका पठाउने नाममा बेचबिखन तथा तस्करीको जालोमा आफू परेको महसुस उनले गरे।
‘त्यतिबेला मात्रै मैले बुझें, मलाई अमेरिका होइन, बेच्न लगिएको रहेछ’, उनले भने । परिवारकै सहयोगमा पछि आफू नेपाल फर्कन सफल भएको उनले बताए।
पीडितले आफूलाई अमेरिका पठाउने बहानामा युएई हुँदै अफ्रिकी मुलुकमा पुर्याई बन्धक बनाइएको, राहदानी र मोबाइल जफत गरिएको, जबर्जस्ती घरेलु काममा लगाइएको, शारीरिक तथा मानसिक यातना दिइएको भन्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा कारबाहीको माग ब्युरोमा गरेका छन्।
ब्युरोका प्रहरी एसएसपी कृष्ण पङ्गेनीका अनुसार अहिले मानव बेचबिखन अनुसन्धान ब्युरोमा यस्ता प्रकृतिका उजुरी बढिरहेका छन् । विदेश जाने सपना बोकेका नेपाली युवालाई ‘तल्लो बाटोबाट अमेरिका’ पुर्याइदिन्छौं भन्दै दलालहरूले करोडौं असुल्ने र अन्ततः विदेशी भूमिमा अलपत्र पार्ने घटनाले भयावह रूप लिन थालेको छ।
‘गरिबी, बेरोजगारी र विदेशप्रतिको मोहलाई प्रयोग गर्दै फैलिएको यो जालोले अहिले धेरै नेपाली परिवारको सपना मात्रै होइन, जीवन नै तहसनहस पारिरहेको छ’, उनले भने।
ब्युरोको तथ्यांकअनुसार अमेरिका पुर्याउने भन्दै ठगीमा परेको उजुरी २८ वटा रहेको छ । साथै हालसम्म अमेरिकाबाट फिर्ता भएको संख्या ९ सय ६५ छ।नागरिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया