जेठ ६, २०८३ बुधबार May 20, 2026

डिजिटल हिंसाको सिकार बन्दै महिला

विश्वका करिब ३८ प्रतिशत महिला कुनै न कुनै रूपमा डिजिटल हिंसाको सिकार हुने गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरू महिलाप्रति अत्यन्त निर्मम बन्दै गएका उदाहरण प्रशस्त देखिन थालेका छन् । महिलालाई लक्षित गालीगलौज र अपमानजनक टिप्पणीका कारण सामाजिक सञ्जालप्रति आमनागरिकको भरोसा समेत खस्कँदै गएको छ ।

सामाजिक सञ्जालको प्रयोग व्यापक भएसँगै महिलामाथि हुने डिजिटल हिंसा पनि बढ्दो क्रममा छ । महिला अधिकारकर्मी बबिता बस्नेतका अनुसार सामाजिक सञ्जाल नहुँदासमेत महिलाहरूले बोलेकै भरमा गाली, बहिष्कार र अपमान सहनुपथ्र्यो । अहिले भने सामाजिक सञ्जाल महिला तथा किशोरीलाई गाली गर्ने सजिलो माध्यम बनेको छ ।

‘आफ्नो विचार राखेकै भरमा, असहमति जनाएकै कारण महिलामाथि जसरी आक्रमण भइरहेको छ, त्यो गम्भीर अपराध हो,’ उनी भन्छिन्, ‘लोकतन्त्रमा सबैले आफ्नो विचार राख्न पाउने अधिकार हुन्छ । तर बोलेकै आधारमा महिलाको चरित्र र परिवारमाथि गरिने आक्रमण व्यक्तिको अधिकारमाथिको ठाडो हस्तक्षेप हो ।’ बस्नेतका अनुसार समाजले महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा अझै पनि दोहोरो मापदण्ड कायम राखेको छ ।

केही वर्षअघि उनले अभिनेत्री करिस्मा मानन्धरसँग गरेको अन्तरवार्ता सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियोमा मानन्धरले आफ्नो व्यक्तिगत सम्बन्धबारे खुलेर बोलेकी थिइन् । उनले धेरै साथीहरूसँग घुलमिल भए पनि श्रीमान् विनोद मानन्धरबाहेक अरूसँग आफू खुल्न नसकेको बताएकी थिइन् । यही विषयलाई लिएर सामाजिक सञ्जालमा उनलाई अत्यन्त तल्लो स्तरका टिप्पणीहरू गरिएका थिए ।

बस्नेतका अनुसार महिलाले आफ्ना व्यक्तिगत अनुभव र सम्बन्धबारे खुलेर बोल्नुलाई समाजले अझै सहज रूपमा स्वीकार गर्न सकेको छैन । उनले महिलाको चरित्रमाथि केन्द्रित यस्ता प्रतिक्रियाको विरोध गरिन् । ‘केही समयअघि महानायक राजेश हमालको आत्मकथा आयो, जसमा उहाँले महिलासँगको निकटताबारे खुलेर लेख्नुभएको छ,’ उनी भन्छिन्, ‘तर उहाँमाथि प्रश्न उठेन । त्यही कुरा करिस्माजीले भन्दा भने उहाँलाई गाली गरियो, ट्रोल बनाइयो ।’

गायिका समीक्षा अधिकारी, एलिना चौहान र ज्योति मगरमाथि सामाजिक सञ्जालमा आउने टिप्पणी पनि अत्यन्त अपमानजनक हुने गरेका छन् । नेपाली कलाकार महिलामाथि सामाजिक सञ्जाल निकै क्रूर देखिन्छ ।

यद्यपि, धेरै सेलिब्रेटीहरू सामाजिक सञ्जालका नकारात्मक प्रतिक्रियालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । उनीहरूको भनाइमा, प्रत्येक टिप्पणीलाई गम्भीर रूपमा लिने हो भने मानसिक रूपमा टिक्न नै कठिन हुन्छ ।

आजभोलि सेलिब्रेटी मात्र होइन, फरक विचार राख्ने सामान्य महिला वा किशोरीहरू पनि डिजिटल हिंसाको निशानामा पर्न थालेका छन् । जेनजी आन्दोलनमा सक्रिय भूमिका खेलेकी अभियन्ता सरिस्मा थापा यसको उदाहरण हुन् । आन्दोलनपछि पनि उनी विभिन्न सामाजिक विषयमा सडकबाट आवाज उठाउँदै आएकी छिन् ।

सरकारले वैशाख १२ गतेदेखि सुकुम्वासी बस्ती हटाउन थालेपछि उनले उचित व्यवस्थापनबिना डोजर लगाएर हटाउन नहुने भन्दै विरोध जनाएकी थिइन् । तर यही अभिव्यक्तिका कारण उनी सामाजिक सञ्जालमा निरन्तर आक्रमणको सिकार बनिन् ।

‘तैंले कस्तो छोरी जन्माइस् भनेर मेरो बुबाको मेसेन्जरसम्म गाली आउँछ,’ उनी भन्छिन्, ‘मलाई गाली गर्नु त ठिकै हो, परिवारलाई समेत छाडिँदैन । फरक मत राखेकै कारण यस्तो व्यवहार सामान्यजस्तै भइसकेको छ ।’

सामान्य प्रयोगकर्ताले गरेको गालीभन्दा पनि प्रहरीले नै ‘पैसामा बिक्ने माल’ भनेर गरेको टिप्पणीले आफूलाई बढी दुःखी बनाएको उनले बताएकी छिन् । ‘न्याय दिने निकायका व्यक्तिहरूकै भाषा यस्तो छ भने अरूबाट के अपेक्षा गर्ने ?’ उनले प्रश्न गरिन् ।

नेपालको कानुनले गाली–बेइज्जतीलाई अपराध माने पनि महिलामाथि हुने डिजिटल हिंसा भने घटेको छैन । आर्थिक वर्ष २०८१/८२मा मात्रै साइबर ब्युरोमा करिब नौ हजार उजुरी दर्ता भएका छन् । साइबर ब्युरोकी प्रहरी निरीक्षक दीपा भट्टराईका अनुसार तीमध्ये करिब ५० प्रतिशत उजुरी महिला हिंसासम्बन्धी छन् ।

जेनजी आन्दोलनबाट उदाएकी अर्की अभियन्ता अमीशा पराजुली पनि डिजिटल हिंसाको सिकार बनेकी छन् । राजनीतिक रूपमा फरक विचार राखेकै कारण उनी सामाजिक सञ्जालमा व्यापक आलोचना र अपमानको सिकार भइन् । उनीमाथि ‘बलात्कार गरेर झाडीमा फालिदिनुपर्छ’जस्ता अमानवीय टिप्पणीसमेत गरिएका थिए । ‘प्रहरीले समेत ‘छोरी मान्छे भएपछि थुतुनो जोगाउनुपर्छ’ भनेर गाली गर्नुभयो,’ उनी भन्छिन्, ‘सुरक्षा र न्याय खोज्न गएको ठाउँबाटै अपमान भएपछि परिवारले पनि साइबर ब्युरो जान नदिने अवस्था बन्यो ।’

सार्वजनिक यातायात र सडकमा हिँड्दा समेत ‘तिमी त्यही नानी होइनौ ?’, ‘केपी ओलीको नातिनी’ भन्दै जिस्क्याइने गरेको उनी बताउँछिन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्धको प्रदर्शनमा सहभागी हुँदा आफू डिजिटल हिंसाको सिकार बनेको भन्दै उनी गत चैत १८ गते साइबर ब्युरो पुगेकी थिइन् । तर उजुरी दिएपछि पनि आफूविरुद्ध हुने आक्रमण कम नभएको उनको भनाइ छ ।

प्रहरीको तथ्यांकले पनि महिलामाथि हुने डिजिटल हिंसा तीव्र रूपमा बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७५/७६मा महिलाविरुद्ध डिजिटल हिंसाका १९४ उजुरी दर्ता भएका थिए । अहिले २०८१/८२मा त्यो संख्या झन्डै आठ हजार पुगेको छ ।

अन्तर्राष्ट्रिय अध्ययनहरूअनुसार विश्वका करिब ३८ प्रतिशत महिला कुनै न कुनै रूपमा डिजिटल हिंसाको सिकार हुने गरेका छन् । महिला अधिकारकर्मीहरूका अनुसार यो समस्या नेपालमा मात्र सीमित छैन, विश्वभरका महिलाले यस्तो हिंसा भोगिरहेका छन् ।

सामाजिक सञ्जालमा सन्तुलित र स्पष्ट विचार राख्ने अभियन्ता रक्षा बम पनि निरन्तर डिजिटल आक्रमणको सामना गरिरहेकी छन् । उनी जेनजी आन्दोलनबाट चर्चामा आएकी भए पनि सामाजिक अभियानमा पहिलेदेखि सक्रिय थिइन् ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
२०८३ जेठ ६, बुधबार
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
२०८३ जेठ ६, बुधबार
कञ्चनपुर-कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
२०८३ जेठ ६, बुधबार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
२०८३ जेठ ६, बुधबार
राष्ट्र बैंकद्धारा बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ जेठ ६, बुधबार
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
२०८३ जेठ ६, बुधबार
सिटीको बराबरीसँगै आर्सनलको उत्सव, २२ वर्षको उपाधि खडेरी अन्त्य
२०८३ जेठ ६, बुधबार