जेठ ७, २०८३ बिहिबार May 21, 2026

सगरमाथामा आरोहीको लाम

कीर्तिमान बनाउने र तोड्ने लहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ७ गते । एक सातामा २५० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन् । यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख ३१ गते चुचुरोसम्मको बाटो खुलेयता बुधबारसम्म उल्लिखित सङ्ख्यामा आरोही र सहयोगी शेर्पासमेतले आरोहण पूरा गरी आधार शिविर फर्किएका छन् ।

खुम्बु क्षेत्रको पर्वतारोहणसम्बन्धी गतिविधि व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दाे बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील सेर्माका अनुसार सगरमाथा आरोहणको समय १० दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन् ।

“यस वर्ष सगरमाथा आरोहणका लागि अब १० दिन मात्रै बाँकी रहँदा आधा जति आरोहीले आरोहण पूरा गरेका छन् । पछिल्लो तीन दिनयता आरोहणका लागि मौसम अनुकूल हुँदा र आरोहण सकिने समय नजिकिँदै जाँदा अहिले चुचुरोतर्फ जाने आरोहीको लाम लागेको छ,” उहाँले भन्नुभयो ।

बुधबार मात्रै करिब दुई सय हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको दुई दिनभित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उहाँको भनाइ छ ।

पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथासहित ३० वटा हिमाल आरोहणका लागि एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । जसमध्ये सगरमाथा आरोहण गर्न मात्रै ४९४ जनाले अनुमति पाएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि नेपालसहित ५५ देशका ४९४ आरोहीले अनुमति लिएका हुन् ।

विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपियाँ राजस्व सङ्कलन गरेको छ । जसमध्ये सगरमाथाबाट मात्रै एक अर्ब सात करोड ८६ लाख ९१ हजार ४७५ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

विश्वविख्यात आरोही कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथामा पुगेको दुई दिनभित्रै अर्का प्रख्यात आरोही पासाङदावा (पादावा) शेर्पा ३० औँ पटक सर्वोच्च शिखरमा पुग्नुभएको छ । सोलुखुम्बुको पाङ्बोचेका ४९ वर्षीय शेर्पाले ३० औँ पटक सर्वोच्च शिखरमा पुगेसँगै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान बनाउनुभएको छ ।

सोमबार बिहान शिखरमा पुग्नुभएका उहाँ यसै याममा पुनः सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोड्ने तयारीमा रहनुभएको छ ।

सगरमाथा आरोहणमा कामिरितालाई पछ्याइरहनुभएका उहाँले विक्रम संवत् २०५५ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया