काठमाडौँ, जेठ १८ गते । विश्वका विभिन्न मुलुकमा हान्टा भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि नेपाल सरकारले पनि सतर्कता अपनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तत्काल नेपालमा सङ्क्रमण पुष्टि नभए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाएको हो । मन्त्रालयले रोग निगरानी, स्वास्थ्य सतर्कता तथा पूर्वतयारीका कामलाई तीव्र बनाएको जानकारी दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले विश्वव्यापी स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नेपालले आवश्यक तयारी सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय सीमानाका, विमानस्थलमा निरन्तर निगरानी भइरहेको जानकारी दिनुभयो ।
“नेपालमा हालसम्म हान्टा भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । विश्वका केही मुलुकमा सङ्क्रमण देखिएकाले स्वास्थ्य सुरक्षा सतर्कता बढाएका छौँ,” डा. देवकोटाले भन्नुभयो, “आवश्यक परे थप जनशक्ति परिचालन गरिने छ ।” स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने तथा रोग निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा तत्काल सङ्क्रमणको जोखिम कम रहे पनि अन्तर्राष्ट्रिय आवतजावतका कारण सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताउनुभयो । उहाँले समन्वय, सम्भावित सङ्क्रमण पहिचान तथा सूचना व्यवस्थापनका कामलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । सङ्क्रमण पुष्टि भएका देशबाट आउने यात्रुको अवस्थाबारे निगरानी भइरहेको उहाँको भनाइ छ । कङ्गोलगायत हान्टा भाइरस पुष्टि भएका देशबाट आउने यात्रुलाई निगरानी गरिने उहाँको भनाइ छ ।
के हो हान्टा भाइरस ?
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हान्टा भाइरस मुसाबाट मानिसमा सर्ने दुर्लभ तर गम्भीर भाइरसजन्य सङ्क्रमण हो । यो भाइरस विश्वका विभिन्न भागमा समय समयमा देखिँदै आएको छ । उहाँले हान्टा भाइरस समूह अन्तर्गत पर्ने विभिन्न प्रकारका भाइरस रहेको र तीमध्ये केहीले मानिसमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने बताउनुभयो । विशेष गरी सङ्क्रमित मुसाको पिसाब, दिसा, ¥याल वा त्यसबाट दूषित धुलो तथा वातावरणको सम्पर्कमा आउँदा मानिस सङ्क्रमित हुन सक्ने उहाँको भनाइ छ । सङ्क्रमित मुसाले छोएका वस्तु सफा गर्दा, गोदाम, पुराना कोठा वा फोहोर स्थान सफा गर्दा उड्ने धुलोमार्फत पनि भाइरस शरीरमा प्रवेश गर्न सक्छ । त्यसैले सरसफाइका क्रममा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । डा. पुनका अनुसार केही प्रकारका हान्टा भाइरस मानिसबाट मानिसमा पनि सर्ने सम्भावना रहेको अध्ययनले देखाएका छन्, यद्यपि यस्तो सङ्क्रमण दुर्लभ मानिन्छ ।
लक्षण
डा. पुनका अनुसार हान्टा भाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण सामान्य भाइरल सङ्क्रमण जस्तै देखिन सक्छन् । ज्वरो आउने, अत्यधिक थकान हुने, शरीर गल्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने तथा पेट दुख्ने जस्ता लक्षण प्रारम्भिक चरणमा देखिन सक्छन् । रोग जटिल बन्दै जाँदा खोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, छाती कस्सिएको महसुस हुने, फोक्सोमा पानी जम्ने तथा मिर्गौलाको कार्यक्षमतामा असर पुग्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो । समयमै उपचार नपाएमा सङ्क्रमण गम्भीर बन्न सक्ने भएकाले शङ्कास्पद लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न उहाँको सुझाव छ ।
डा. पुनले भाइरसबाट बच्नका लागि मुसाको अत्यधिक सम्पर्कमा आउने स्थान सफा गर्दा मास्क र पन्जा प्रयोग गर्न, फोहोर तथा धुलो सफा गर्दा सावधानी अपनाउन, खाद्यान्न सुरक्षित राख्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया