असोज ७, २०८३ बुधबार September 23, 2026

एमाले पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल, अधिकांशले राखे नेतृत्व परिवर्तनको माग

सुरुवातमा असोज ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने भनिएको यो केन्द्रीय कमिटी बैठक अब एकदिन लम्बिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सोमबारदेखि जारी बैठक मंगलबारसम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको चरम दूरी र अविश्वास केही मत्थर भएको छ । आफूलाई पदबाट हटाउन महासचिव पोखरेलले छुट्टै दस्तावेज तयार पारेको भन्दै रुष्ट बन्नुभएका अध्यक्ष ओलीले उहाँलाई भूमिकाविहीन बनाउने प्रयास गर्नुभएको थियो । तर, मंगलबारको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष ओलीको प्रतिवेदनको समर्थन गर्दै विवादलाई साम्य पार्ने प्रयास गर्नुभएको छ ।

पार्टी बैठक सञ्चालनको विषयलाई लिएर नेताहरूबीच असन्तुष्टि देखिएपछि महासचिव शंकर पोखरेलले बैठक सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले बैठकका अधिकांश प्रक्रिया आफैँ सञ्चालन गर्दै आउनुभएको थियो सोमबार दिनभरको बैठकसमेत अध्यक्ष ओलीले नै सञ्चालन गर्नुभएको थियो । तर, मंगलबार बिहानको सत्रमा अध्यक्षले नै सबै प्रक्रिया सञ्चालन गरेको भन्दै महासचिव पोखरेललगायत केही नेताले असन्तुष्टि जनाएका थिए ।

बैठकमा नेताहरूले अध्यक्षले नै सबै कुरा सञ्चालन गर्ने हो भने पार्टी ‘वान म्यान सो’ का रूपमा चल्ने हो कि ? भन्दै प्रश्न उठाएका थिए । नेताहरूको विरोध र दबाबपछि सोमबार दिउँसोको सत्रदेखि भने अध्यक्ष ओलीले बैठक सञ्चालनको जिम्मेवारी महासचिव पोखरेललाई दिनुभएको थियो ।

बैठकमा देखिएको अविश्वासलाई कम गर्न मंगलबार बिहान अध्यक्ष ओली र महासचिव पोखरेलबीच गुण्डुमा करिब तीन घण्टा लामो छलफल भएको थियो । उक्त संवादपछि बैठकमा सम्बोधन गर्दै महासचिव पोखरेल निकै नरम रूपमा प्रस्तुत हुनुभयो । उहाँले अध्यक्ष ओलीसँग आफ्नो कुनै किसिमको शत्रुता नरहेको र अध्यक्षलाई हटाउने मनशाय पनि नभएको स्पष्ट पार्नुभयो । सँगसँगै बसेर काम गरिरहँदा अध्यक्षलाई अभियोग लगाउने काम आफूबाट नहुने उहाँको भनाइ थियो ।

पार्टीमा विग्रह र असमझदारी आउने गरी विशेष महाधिवेशनको नेतृत्व आफूले नगर्ने र अध्यक्षको असहमतिमा आफू पार्टी अध्यक्ष पनि नबन्ने प्रतिबद्धता महासचिव पोखरेलले जनाउनुभएको छ । उहाँले अध्यक्ष ओलीले महसुस गर्नुपर्ने कुरा गरिसकेको भन्दै अब विमति राख्नुपर्ने कारण नरहेको बताउनुभयो । उहाँले अध्यक्षको प्रतिवेदनको भावना सही रहेको भन्दै त्यसैलाई संश्लेषण गरेर अघि बढ्नुपर्ने र त्यसका लागि छिट्टै सचिवालय बैठक बस्ने जानकारी गराउनुभयो ।

यसैगरी, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि नेतृत्वको आलोचना गरेर मात्रै पार्टीलाई एकजुट बनाउन नसकिने बताउँदै संवाद र सहमतिमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अध्यक्ष ओलीको प्रतिवेदनको भावना ठीक रहेको र त्यसमा आएका १५ वटा योजनाअनुसार नै पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलसँग ओलीको कलह चलिरहँदा उपाध्यक्ष पौडेल भने अध्यक्षसँग नजिकिएको चर्चा चलेको थियो ।

सोही चर्चाबीच उहाँले पनि आफूलाई नरम शैलीमा प्रस्तुत गर्नुभयो । उपाध्यक्ष पौडेलले अर्का उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले निकै मिहिनेत गरेर प्रतिवेदन तयार गरेको स्मरण गराउनुभयो । कार्यदल गठनको समयमा धेरै विमति भए पनि प्रतिवेदन तयार गर्ने बेला धेरै कुरामा सहमति बनेको भन्दै उहाँले अहिले फेरि पक्ष–विपक्षमा विभाजन हुनु पार्टीको हितमा नरहेको बताउनुभयो ।

यसअघि सोमबारको बैठकमा अध्यक्ष ओलीले निकै कडा शैली अपनाउनुभएको थियो । महासचिव पोखरेललाई एकल्याउने रणनीतिअनुसार ओलीले उहाँको आसन आफ्नो नजिकबाट हटाउनुभएको थियो । महासचिव पोखरेल र नेता प्रदीप ज्ञवालीले तयार पारेको मस्यौदा समेटेर उपाध्यक्ष बादल नेतृत्वको कार्यदलले बनाएको २९ पृष्ठ लामो प्रतिवेदनलाई अध्यक्ष ओलीले बैठकमा प्रस्तुत हुनबाट रोक्नुभएको थियो ।

चुनावमा सोचेजस्तो नतिजा नआउनुमा आफ्ना कारणले मात्रै नभएर देशी-विदेशी षड्यन्त्र पनि प्रमुख रहेको भन्दै ओलीले नेतृत्व छाड्न ठाडै अस्वीकार गर्नुभएको थियो । बैठकमा सहभागी नेताहरूलाई पनि कडा नियम लागू गरिएको छ । बैठक स्थलमा मोबाइल फोन लैजान निषेध गरिएको छ । बैठकबाट बाहिर जानुपर्दा वा बोल्नुपर्दा अनिवार्य रूपमा अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति लिनुपर्ने नियम बनाइएको छ ।

स्थानीय चुनावसम्म ‘अन्तरिम नेतृत्व’को प्रस्ताव

शीर्ष नेताहरूबीच कुरा मिलेको देखिए पनि अन्य नेताहरूले भने नेतृत्वको कार्यशैली र पार्टीको भविष्यलाई लिएर प्रश्न उठाएका छन् । एमाले उपमहासचिव योगेश भट्टराईले नेतृत्व हस्तान्तरण अनिवार्य भएको निष्कर्षसहितको आठबुँदे लिखित प्रस्ताव अध्यक्ष ओलीलाई बुझाउनुभएको छ । बैठकमा निर्धारित समयमा आफ्ना सबै कुरा राख्न नसकिने भन्दै उहाँले लिखित दस्तावेज नै बुझाउनुभएको हो । उहाँले फागुन २१ को निर्वाचन र नयाँ पुस्ताको आन्दोलनपछिका घटनाक्रमले पार्टीमा नेतृत्व हस्तान्तरणको विकल्प नभएको दाबी गर्नुभएको छ । महाधिवेशनले ओलीलाई अध्यक्ष चयन गरे पनि त्यसपछिको परिस्थिति झन् बिग्रिएको भन्दै उहाँले सबैको सहमतिमा स्थानीय तहको चुनावसम्मका लागि अन्तरिम नेतृत्व खडा गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

उपमहासचिव भट्टराईले राष्ट्रिय प्रतिनिधि परिषद् वा विधान महाधिवेशन बोलाएर ७० वर्षे उमेर हदबन्दीलाई पुनः स्थापित गर्नुपर्ने सुझाव दिनुभएको छ । आन्तरिक लोकतन्त्र बलियो बनाउने, युवा पुस्तालाई नेतृत्वमा ल्याउने, जनसंगठनलाई स्वायत्त रूपमा चल्न दिने र पार्टीभित्र फरक मत तथा आलोचनालाई सहज रूपमा लिने व्यवस्था मिलाउनुपर्ने उहाँको माग छ । युवाहरूसँग पार्टीको संवाद टुटेको भन्दै उहाँले नयाँ पुस्तालाई पार्टीको मञ्चमा ल्याएर जिम्मेवारी दिनुपर्ने बताउनुभयो । यसका साथै सरकारका राम्रा कामको समर्थन र कमी–कमजोरीको विरोध गर्ने नीति हुनुपर्ने भन्दै उहाँले पार्टीका विभागहरूले सरकारको नियमित सोसल अडिट गरेर मात्र भावी रणनीति तय गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

यसैगरी, केन्द्रीय सदस्य ठाकुर गैरे र नेता आनन्द पोखरेलले अध्यक्ष ओलीको एकलौटी कार्यशैलीप्रति तीव्र असन्तुष्टि पोख्नुभयो । नेता गैरेले बैठकको सम्पूर्ण सञ्चालन अध्यक्ष एक्लैले गर्ने हो भने अन्य पदाधिकारीको औचित्यमाथि नै प्रश्न उठाउनुभयो । उनीहरूले पार्टीमा अन्य पदाधिकारी खारेज गरेर एकल अध्यक्षको मोडलमा जान अध्यक्ष ओलीलाई व्यंग्यात्मक सुझाव दिएका छन् । लोकतान्त्रिक दलमा प्रत्येक केन्द्रीय सदस्यले कम्तीमा पाँच मिनेट बोल्न पाउनुपर्ने माग गर्दै गैरेले ओलीको मन्तव्यलाई सम्पूर्ण समीक्षासहितको प्रतिवेदन मान्न नसकिने जिकिर गर्नुभयो ।

त्यस्तै, नेता आनन्द पोखरेलले अध्यक्ष ओलीको व्यवहारले तल्लो तहका कार्यकर्तासम्म पार्टी विभाजनको नकारात्मक सन्देश गएको चेतावनी दिनुभयो । महासचिवलाई कार्यक्रम चलाउन नदिनु र उहाँको कुर्सी सार्नु जस्ता व्यवहारले गम्भीर असर परेको उहाँको भनाइ थियो । उहाँले कार्यदलले तयार पारेको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई अध्ययन गर्न नदिएकोमा पनि आपत्ति जनाउनुभयो । साथै, अध्यक्ष ओलीले आफ्ना आलोचकहरूलाई लक्षित गर्दै प्रयोग गरेका किर्ना र आबारा जस्ता शब्दहरू गलत भएको भन्दै त्यसलाई सच्याउन उहाँले माग गर्नुभयो ।

बैठक बिहीबारसम्म चल्ने

सुरुवातमा असोज ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने भनिएको यो केन्द्रीय कमिटी बैठक अब एकदिन लम्बिने भएको छ । बैठकको दोस्रो दिन मंगलबार अध्यक्ष ओलीले सबै केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि पर्याप्त समय दिनुपर्ने भएकाले बैठकलाई असोज ८ गते बिहीबारसम्म लम्ब्याउने जानकारी गराउनुभएको छ ।

यता, अध्यक्ष ओलीको बचाउमा सचिव महेश बस्नेत खरो रूपमा उत्रिनुभएको छ । उहाँले अध्यक्ष ओलीलाई नेतृत्वबाट हटाउने, बद्नाम गराउने, घरबारविहीन बनाउने र भौतिक रूपमै समाप्त पार्ने सम्मका सबै षड्यन्त्र असफल भएको दाबी गर्नुभयो ।

पार्टीभित्रकै केही नेताहरूले नयाँ पुस्ताको आन्दोलन र सरकारको आडमा राज्य संयन्त्रको दुरुपयोग गरेर अध्यक्षविरुद्ध अभियान चलाएको उहाँको आरोप छ । तर, आम कार्यकर्ताको समर्थनले ती सबै प्रयास विफल भएको उहाँले बताउनुभयो । हिमालय टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया