काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको प्रत्यारोपणपछि आफू थप ऊर्जा र आत्मविश्वासका साथ काममा फर्कने बताएका छन्।
दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफूले मैदान नछाड्ने बताएका छन्।
‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन त्यसैगरी हाम्रा जागृत हुँदै गरेका सपनलाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ’, प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा भनेका छन्।
उनले आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन सबैलाई आग्रह गर्दै आफू केही दिनको अस्पताल बसाइपछि थप ऊर्जा र आत्मविश्वासका साथ फर्कने बताएका छन।
‘मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस्, हामीले देखेको सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वासका साथ काममा फर्कनेछु’, भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले भने।
उनले आफू अस्पताल बसे पनि सरकारका काम कारबाही भने यथावत रुपमा अगाडि बढ्ने बताएका छन। उनले आफ्नो अनुपस्थितिमा पनि कोरोना र अन्य भइपरी आउने समस्याबारे आवश्य निर्णय लिन संयन्त्र तयार गरेको बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया