असोज ६, २०८३ मंगलबार September 22, 2026

कमल राई हत्याको आरोपमा दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको मृतास्थामा शव फेला परेको थियो ।

शरीर तथा टाउकोमा चोटसहित शङ्कास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएको पुष्टि भएसँगै अनुसन्धान थालेको प्रहरीले कमलको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

पक्राउ परेका दुवैले पूर्व रिसइबीका कारण योजनाबद्धरूपमा कमललाई प्लटिङ जग्गामा लगेर लाठीले टाउको तथा शरीरका संवेदनशील अङ्गमा कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया