असोज ७, २०८३ बुधबार September 23, 2026

बजेटको अर्थराजनीति-खिमलाल देवकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गत हप्ता अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व. २०७७।७८ को वार्षिक बजेट संयुक्त सदनसमक्ष प्रस्तुत गर्नुभयो । गत वर्ष झण्डै साढे पन्ध्र खर्बको बजेट प्रस्तुत थियो, यसपटक कोरोनाका कारण १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत छ ।

बजेटको चित्र

वक्तव्यको आरम्भमा नै चार उद्देश्य र छ प्राथमिकतामा आधारित बजेट भनिएकोे छ । रोगबाट जोगाउने, आर्थिक पुनरुत्थान गर्ने, राज्यको लोककल्याणकारी भूमिका वृद्धि गर्ने र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने बजेटका उद्देश्य रहे भने रोगसँग लड्न स्वास्थ्य पूर्वाधार, बेरोजगारलाई रोजगारी, भोकाहरूलाई खाद्यसुरक्षा, अधुरा आयोजना कार्यान्वयन, गुणस्तरीय तथा जीवनपयोगी शिक्षा र सङ्घीयताको कार्यान्वयन बजेटका प्राथमिकता छन् । यसै उद्देश्य र प्राथमिकताका आधारमा विनियोजित बजेटमा झण्डै दुईतिहाइ खर्च ६४.३ प्रतिशत साधारणतर्फ र विकास खर्च २६.६ प्रतिशत ( तीन खर्ब ५२ अर्ब ११ करोड ) विनियोजित छ ।

ऋण तिर्ने प्रयोजनका लागि ११ प्रतिशत रु. एक खर्ब रकम छुट्याइएको छ । उक्त खर्च धान्ने स्रोतमा राजस्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड, वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड, वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड र नपुग हुने दुई खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने बताइएको छ । सर्वाधिक प्राथमिकता दिइएको क्षेत्र स्वास्थ्यमा विगतको भन्दा १२ अर्ब थपेर ९० अर्ब ६९ करोड पु¥याइएको छ भने दोस्रो प्राथमिकता कृषिमा विगतको बजेटमा सात अर्ब थपेर ४१ अर्ब ४० करोड र तेस्रो शिक्षामा एक खर्ब ७१ अर्ब ७१ करोड गरी जम्मा ११ प्रतिशत बजेट विनियोजन भएको छ । यो विनियोजनले रोगसँग लड्ने, भोकसँग लड्ने, रोजगारी सिर्जना गर्ने, विकास समृद्धि हासिल गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने अपेक्षा गरिएको छ । सामन्तवादबाट पुँजीवाद हुँदै समाजवादमा सङ्क्रमण गर्ने दावा गर्ने बजेटको समीक्षा त्यसै कोणबाट हुनु स्वाभाविक पनि हो ।

सैद्धान्तिक समीक्षा

माक्र्सवादी इतिहासकार तथा बर्मिड्घम युनिभर्सिटीका प्राध्यापक रोडनी हिल्टनले ‘सामन्तवादबाट पुँजीवादमा सङ्क्रमण’ नामक पुस्तकको भूमिकामा लेख्नुभयो कि वबेलायतका सन्दर्भमा सामन्तवादबाट पुँजीवादमा सङ्क्रमण भनेको जमिन्दार र किसानहरूबीचको ज्यालामा रहेको निरन्तर सङ्घर्षको परिणाम हो । यही ज्यालामा रहेको निरन्तरको सङ्घर्षका कारण पछिल्लो समयमा भूमिमा निर्भर किसानहरू फ्याँकिए र बजारको माग बुझ्ने क्षमता राख्ने धनी किसानहरूकै एक समूहलाई फाइदा पुग्यो । सामन्तवादबाट पुँजीवादको फड्को बजारवादमा पुग्यो जसको परिणाम घुमिफिरी उत्पादनका साधनमाथिको नियन्त्रण उनै सामन्तहरूका हातमा फर्कियो ।

नेपाल ठीक त्यही ठाउँमा छ जतिबेला प्राध्यापक हिल्टनले बेलायती समाजको चित्रण गरेर लेख्नुभएको थियो । नेपाल सदियौँदेखिको सामन्ती चङ्गुलबाट उम्केर नेपाली समाज पुँजीवादी सङ्क्रमणको चरणमा छ । पुँजीवादी बाटो हँुदै समाजवाद र अन्ततः साम्यवादमा पुग्ने रणनीतिक लक्ष्य सत्तारुढ कम्युनिस्ट पार्टीको विधान, दस्तावेज र निर्वाचन घोषणापत्रले उद्घोष गरेको छ । जसरी बेलायत सामन्तवादबाट पुँजीवादको सङ्क्रमणका बखत नै बजार अर्थतन्त्रको चङ्गुलमा फस्यो र उसले समाजको आवश्यकतालाई हैन, बजारको मागलाई ध्यान दिन थाल्यो । त्यो सामन्तवादबाट पँुजीवादको सङ्क्रमणका क्रममा बेलायतको राजनीतिक नेतृत्व पुँजीवादीहरूकै थियो, कम्युनिस्टहरूको थिएन । त्यसैले बेलायत बजार अर्थतन्त्रमा जानु अनौठो नभए पनि नेपालको सन्दर्भमा त्यो छुट कम्युनिस्ट पार्टीको नेतृत्वको सरकार हुनाका कारणले छैन । नेपाल सामन्तवादबाट पुँजीवादको सङ्क्रमणको क्रममा रहेको अवस्थामा नै भए पनि उसलाई समाजवादी अर्थतन्त्र निर्माण गर्दै साम्यवादमा जाने लक्ष्यबाट विमुख हुने छुट छैन ।

कार्यान्वयनका चुनौती

समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने चुनौतीका सामु जारी भएको बजेटको चित्र आफैँमा प्रष्ट छ कि आन्तरिक राजस्वले सामान्य खर्च पनि धान्दैन । बजेटरी खर्चका लागि पनि विदेशी अनुदान, ऋण वा सहायताको भर पर्नुको विकल्प छैन । अपेक्षाहरू बगे्रल्ती छन् स्रोत र साधनहरू सीमित छन् । यसैका बीचमा कोरोनाले खडा गरेको चुनौती छ । पुराना परियोजनालाई निरन्तरता दिने बाध्यता र नयाँ परियोजना सुरु गर्नैपर्ने आवश्यकताका बीचको अन्तरविरोध पनि चानचुने छैन । अनपेक्षित खर्चको मात्रा ठूलो छ आम्दानीका स्रोत र साधनहरू साँघुरिएका छन् । मुख्य आम्दानीको स्रोत राजस्वमा कमी आएको छ । राजस्व तिर्नेहरूले नै राहतको प्याकेज माग गरिरहेका छन् । ठूलो अंश विप्रेषण थियो अब विप्रेषणमार्फत अर्थतन्त्रमा योगदान पुर्याउनेहरू नै रोजगारी गुमाएर बेरोजगार भई स्वदेश फर्काउनुपर्ने बाध्यता छ । रोगसँग लड्नैपर्ने, भोकबाट जनतालाई जोगाउनैपर्ने र आर्थिक समृद्धिको जनताको अपेक्षा पनि पूरा गर्नैपर्ने तेहेरो चपेटामा बजेट प्रस्तुत भएको छ ।

झण्डै तीन महिनाको बन्दाबन्दीले गरिबीको रेखामुनिका जनसङ्ख्याको प्रतिशत बढाउँदैछ । प्रत्येक वर्ष श्रम बजारमा आउने पाँच लाखसहित विदेशबाट रोजगारी गुमाएर फर्कनेको सङ्ख्या जोड्दा दशौँ लाख पुग्ने पक्का छ तर बजेटले साढे सात लाख मात्रै रोजगारी सिर्जना गर्ने बताएको छ । बेरोजगारहरूको भीड बढ्ने, विप्रेषण बन्द हुने र आम्दानीको अरू उपाय नहुने हो भने भोकमरीलाई सामना गर्ने बाध्यता आइपर्नेछ । यसतर्फ बजेटले अन्यथा कल्पनासम्म पनि गरेको छैन ।

सङ्घीयता कार्यान्वयन बजेटको छैटौँ प्राथमिकता तोकिएको छ तर ७५ प्रतिशत बजेट केन्द्रमा राखिएको छ । खर्च कटौतीको कुरा गरिएको छ तर खर्च पुनरवलोकन आयोगले सिफारिस गरेका कार्यालय खारेज गर्ने कुरा बजेटमा आउन सकेन । खर्च कटौतीका शीर्षकमा विवादमा रहेका सांसद विकास कोष खारेज भएन बरु कर्मचारीको भत्ता कटौती गरियो । बजेट कार्यान्वयनका क्रममा स्थायी सरकार मानिने कर्मचारीतन्त्रको अनिच्छा र असहयोग प्रष्ट झल्कन सक्छ । यस्तो अवस्थामा यही बजेट पनि विगतमा झँै खर्चै गर्न नसक्ने अवस्था सिर्जना भयो भने अर्थतन्त्रमा भयानक मन्दी आउनेछ । यस्ताखाले चुनौतीतर्फ बजेट कार्यान्वयनका बखत ख्याल पुर्याउन जरुरी छ ।

कोरोनाले सिर्जना गर्ने चुनौतीसँगै विश्व व्यवस्थामा ल्याउने फेरबदलसँगै उत्तर दक्षिणका छिमेकीका बीचको तनावले सिर्जना गर्ने भूराजनीतिक संवेदनशीलताको पक्षलाई पनि हेक्का राख्दै जनगणना गर्नुपर्ने, कालापानी, लिपुलेक लिम्पियाधुरामाथिको वैधानिकता हासिल गर्ने र रोग र भोकबाट जोगाउँदै समृद्धि हासिल गर्ने दिशामा बजेटको सफल कार्यान्वयन अनिवार्य शर्त हुनेछ ।- गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Flydubai aircraft lands at Pokhara International Airport
२०८३ असोज ७, बुधबार
भारी वर्षा र हिमपातको जोखिमसँगै असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह
२०८३ असोज ७, बुधबार
देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
२०८३ असोज ७, बुधबार
राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
२०८३ असोज ७, बुधबार
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेनन्
२०८३ असोज ७, बुधबार
पार्टी पुनर्गठनका नाममा केपी ओली हटाउने षड्यन्त्र स्वीकार्य छैन : महेश बस्नेत
२०८३ असोज ७, बुधबार
कांग्रेसको ५१२ पालिकामा अधिवेशन जारी, २४१ पालिकामा असोज ८ र ९ गते हुदै
२०८३ असोज ७, बुधबार