बैसाख २०, २०८३ आइतबार May 3, 2026

वर्षाले ९ करोडको इँटा नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् ।

लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्णरुपमा नष्ट भएका भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्वाले जानकारी दिएका छन ।
उनले भने, ‘पोल्नलाई तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा इँटाभट्टामा कम्तीमा आठ लाख र बढीमा नौ लाखको सङ्ख्यामा काँचो इँटा नष्ट भएका छन्, अब पोल्ने इँटा नै छैन, भट्टामा आगो जोगाउनै मुस्किल पर्‍यो ।’ इँटा नष्टहुँदा व्यवसायीलाई करिब ९ करोड बराबरको नोक्सान भएको अध्यक्ष ह्याम्वाले जानकारी दिएका छन ।

काँचो इँटा नहुँदा भट्टाको आगो निभाउनुपर्ने अवस्था सिर्जना भएकाले झन् जोखिम बढेको बताउँदै उनले आगो जोगाउन इँटा नभए पनि कोइला हालिरहनुपर्ने भएकाले दोहोरो खर्च बढेको बताएका छन ।

पुरानो इँटा मौज्दात भएकाले तत्काल इँटाको अभाव पनि नहुने र मूल्य पनि नबढ्ने उल्लेख गर्दै उनले व्यवसायीलाई समस्या परेकाले नगरपालिका र सरकारसँग कर छुट दिन माग गरेका छन ।

वर्षाका कारण व्यवसायीलाई मात्रै नभई मजदुरलाई समेत निकै नोक्सान पुर्‍याएको छ । चाङ लगाएको इँटामा ३३ प्रतिशित नोक्सानी मजदूरले व्यहोर्नु पर्ने व्यवस्था गरिएको छ ।

वर्षाले हुने क्षतिमा भुइँमा भएका र सुकाएका इँटाको सम्पूर्ण नोक्सानी मजदुरले व्यहोर्नुपर्ने र चाङ लगाएका इँटाको नोक्सानी भने ६७ प्रतिशत व्यवसायी र ३३ प्रतिशत मजदूरले व्यहोर्नुपर्ने व्यवस्था छ ।

इँटाभट्टाका मजदूर भकुण्डेबेँसीका रामबहादुर विकले वर्षाले इँटा नष्ट हुँदा निकै मारमा परेको बताएका छन । उनले साहुले जिम्मा नलिएको इँटाको नोक्सानी सबै आफैँले व्यहोर्नुपर्ने भएकाले यहाँका सबै इँटाभट्टाका मजदूर इँटा नष्ट हुँदा मारमा परेका बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया