बैसाख १०, २०८३ बिहिबार April 23, 2026

दुधको साढे दुई अर्ब पाउन बाँकी

एक अर्ब रुपियाँ बराबरको पाउडर र धुलो दुध मौज्दात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १० गते । किसानले दुध बिक्री गरेबापतको साढे दुई अर्ब रुपियाँ पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगको गरी दुई अर्ब ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको हो ।

किसानले बेचेको तीन महिनाको रकम पाउन नसक्दा उनीहरू प्रत्यक्ष मारमा परेका छन् । दुध बेचेको रकम १५/१५ दिनमा वितरण गर्ने व्यवस्था भए पनि किसानले लामो समयसम्म रकम पाएका छैनन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले दुधको बेचेको साढे दुई अर्ब रुपियाँभन्दा बढी लिन बाँकी रहेको जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा दाना र चोकरको मूल्य बढेकाले किसानले समयमा भुक्तानी नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको उहाँको भनाइ छ । इन्धनको मूल्य बढ्दा दुधको लागत मूल्य बढेकाले किसानलाई उपलब्ध गराउँदै आएको प्रोत्साहन रकम बढाउनुपर्ने उहाँको भनाइ छ । सरकारले किसानलाई प्रतिलिटरमा एक रुपियाँदेखि पाँच रुपियाँसम्म प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले चार साताअघि सार्वजनिक गरेको शासकीय सुधारका एक सयबुँदे कार्ययोजनामा कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम २५ दिनभित्र भुक्तानी गर्ने उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना निकालेर २५ दिनभित्र कृषि उपजको भुक्तानी नभए ब्याजसहित भुक्तानी गर्न भनेको छ । यो कार्ययोजना कार्यान्वयनमा आएमा किसानले दुध बेचेको रकम लिन लामो समय पर्खनुपर्ने अवस्था हट्ने छ ।

डिडिसीले पुससम्मको रकम भुक्तानी गरिसकेको र माघदेखि चैतसम्मको बाँकी रहेको जनाएको छ । संस्थानका सूचना अधिकारी नीलकण्ठ गौतमले तीन महिनाको ६० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

यस्तै नेपाल डेरी एसोसिएसनका अध्यक्ष राजकुमार दाहालले तीन महिनाको एक अर्ब रुपियाँभन्दा बढीको दुधको रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो । एक अर्बभन्दा बढीको दुई हजार पाँच सय मेट्रिक टन पाउडर धुलो दुध मौज्दात रहेकाले उहाँले जानकारी दिनुभयो । पाउडर दुध बिक्री भयो भने किसानको बाँकी रकम भुक्तानी गर्न सहज हुने उहाँको भनाइ छ । अन्य साना डेरी उद्योगबाट एक अर्बभन्दा बढी रुपियाँ लिन बाँकी रहेको केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । डिडिसीका अनुसार अहिले दैनिक बजारमा ८० हजार लिटर दुधको माग रहेकोमा ६० हजार लिटर दुध सङ्कलन भइरहेको छ । धुलो दुधबाट अपुग दुधको व्यवस्थापन गरिँदै आएको डिडिसीले जनाएको छ ।

यस्तै एक अर्ब रुपियाँ बराबरको पाउडर र धुलो दुध मौज्दात रहेको डिडिसीले जनाएको छ । गर्मी मौसम सुरु भएसँगै बजारमा दुग्धजन्य पदार्थको खपत बढ्दै गएको छ । गर्मी मौसमा दुध, दही, मही, घिउ र आइसक्रिमको खपत बढ्ने गर्छ । चैतदेखि भदौसम्म दुध उत्पादनको सिजन भएकाले धुलो दुध मिसाएर बजारमा दुध वितरण हुने गर्छ । सिजनका बेला बढी भएको दुध पाउडर बनाउने र अफ सिजनमा बिक्री गर्ने चलन रहेको छ । गर्मी बढेसँगै दुधको सङ्कलन घटिरहेकाले पाउडर र धुलो दुध मिसाएर बजारमा पठाउने गरेको डिडिसीले जनाएको छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानचेस्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लियो
२०८३ बैसाख १०, बिहिबार
गगन-विश्व आलोक : नन्दकृष्ण जोशी
२०८३ बैसाख १०, बिहिबार
सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छः प्रहरी महानिरीक्षक
२०८३ बैसाख १०, बिहिबार
प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
२०८३ बैसाख १०, बिहिबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
२०८३ बैसाख १०, बिहिबार
इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट ‘मेम’ को मृत्युबारे गम्भीर खुलासा
२०८३ बैसाख १०, बिहिबार
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
२०८३ बैसाख १०, बिहिबार