वैशाख १६, २०८१ आइतबार April 28, 2024

भारतले भड्काएको स्थिति र नेपाल-भारत सम्बन्धको भबिष्य- लोकनारायण सुबेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिले पुनः एक अर्को पटक नेपाल-भारत सम्वन्धमा तनाब र तिक्तताको स्थिति सिर्जना भएको छ । यसको पछाडि भारतले बर्षौंदेखि अतिक्रमण गरेर नेपाल सरहद भित्र जबर्जस्ती बसेको कालापानी क्षेत्रको भूभाग – कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतलाई – पछिल्लो भारतीय राजनीतिक नक्शामा गाभेर नेपाली भूमि खाने नै सुरसार झिकेपछि दुइ देश बीचको सम्वन्धमा पुनः असहज अबस्था सिर्जना हुँदै आएको थियो । नेपालले १८१६ मा भएको सुगौली सन्धि लगायत ऐतिहासिक सबुत प्रमाणहरु, महाकाली नदीको मुहान, जलाधार र जल प्रवाह तथा जन गणना, तीरोभरो तिरेका रसिद आदि अकाट्य र सशक्त प्रमाणहरुका आधारमा नेपालको नक्शा पुनर्मुद्रण गरेर संसदमा प्रस्तुत गरेपछि भारतीय शासक बर्ग नेपालले चीनको भरमा यो नक्शा जारी गरेको भनेर भारतीय जनता र बिश्व जनमतलाई भ्रमित तुल्याउन कस्सिएर लागेको छ ।

हुन त नेपाल पनि गणतन्त्र र भारत पनि गणतन्त्र छ । तर आजको एक्काइसौं शताब्दीमा पनि दुइ देशको सम्वन्ध भने बृटिश भारत कालीन मानसिकताबाट गुज्रिरहेको छ । दुइ देशका शासक बर्गले परस्पर समानता, सम्मान र सद्भावको आधारमा सम्वन्ध बिकसित गर्न सकेनन् र सिकेनन् । तथ्यहरु केलाउँदा यसका पछाडि भारतीय एकाधिकार पूँजीवादी शक्तिको प्रभूत्वबादी दृष्टिकोण र ब्यवहार तथा नेपालका शासक बर्गको आत्मसमर्पणबादी लाचारीले काम गरेको प्रष्टै देखिन्छ । फलतः नेपाल भारत बीचको आधुनिक सम्वन्ध जहिले पनि सन्देहास्पद, हैकमबादी र अबिश्वसनीय मात्रै रहेको छैन भारतीय शासक बर्गको कहिले प्रकट र कहिले अप्रकट हस्तक्षेपकै परिधिबाट निरन्तर यो सम्वन्ध गुज्रिरहेको छ । अरु बिभिन्न कारणका अतिरिक्त यस कारणले नै मूलतःहाम्रो देश नेपाल पछि परेको र परिरहेको आजको आजको कटु यथार्थ हो ।

नेपाल भारत बीचको आधुनिक सम्वन्ध जहिले पनि सन्देहास्पद, हैकमबादी र अबिश्वसनीय मात्रै रहेको छैन भारतीय शासक बर्गको कहिले प्रकट र कहिले अप्रकट हस्तक्षेपकै परिधिबाट निरन्तर यो सम्वन्ध गुज्रिरहेको छ ।

बास्तवमा जबसम्म नेपालले भारतसँगको परनिर्भरताबाट आफुलाई सबै किमिले मुक्त गर्ने र समान अन्तरनिर्भरताको बाटोमा अग्रसर हुने दिशा ग्रहण गर्दैन तबसम्म नेपालको स्थिति सधैनै अत्यन्तै असहज अबस्थाबाटै गुज्रिरहने कुरा आजसम्मका यथार्थ अनुभवले प्रष्ट पारिसकेका र पारिरहेका छन् । यथार्थतः भारतका कारणले अहिलेको नेपालमा जुन असमान्य परिस्थिति छ त्यसको पछाडि नेपाली राजनीतिक नेतृत्वको देश र जनताप्रतिको गैर जिम्मेवार, असम्वेनशील, असन्तुलित, संकीर्ण र अपरिपक्क प्रबृत्ति एकातिर छ भने अर्कोतिर भारतीय साशक बर्गको नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राखिराख्ने बर्चश्वादी गलत मनशायका कारण उत्पन्न गतिबिधिहरु नै पूर्णत जिम्मेवार रहेका छन् । यो यथार्थलाई चिर्न नसकेसम्म नेपालको प्रगति, समुन्नति र सम्बृद्धिको गफ केवल जनता र देशलाई भुल्याइराख्ने एउटा ‘मृग मरीचिका’ बाहेक अरु केही हुदैन र ठहरिदैन । यो मूल कुरालाई ढाकछोप गरेर हाम्रो देशको बिकास र प्रगतिको समस्या पटक्कै समाधान हुदैन भन्ने कुरा पनि अहिलेसम्मको अनुभवले एकदमै प्रष्टसँग दर्शाइसकेको छ ।

यो नेपाल भारत सम्वन्धका बारेमा निकै पहिला भारतीय नेतृत्वले भनेका दुइटा महत्वपूर्ण कुरा यहाँ स्मरणीय छन् । गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो कृति ‘डिस्कभरी अफ इण्डिया’मा प्रष्टसँग भनेका छन् – ‘‘बेवास्ता गरिदिदैमा तथ्यहरु लोप हुने होइनन् अनि जतिबेला तिनले ध्यानाकर्षण गर्न बाध्य पार्दछन् त्यतिबेला केही छलप्रपञ्च भएको छ भन्ने कुराले असप्रसन्नता र असन्तोषको अप्रत्याशित स्थिति उत्पन्न हुन्छ ।”Facts do not vanish because they are ignored and when they compel attention there is feeling of displeasure and resentment at the unexpected happening as of some tricks have been played”  यथार्थतः यस कुराले भारतको नेपालसँगको सम्वन्ध सही किसिमले बिकसित र बिस्तार भइरहेको छैन र यसबारे आधुनिक सम्वन्धको आरम्भदेखि नै गम्भीर प्रश्न उठेको थियो भन्ने कुरा प्रष्ट हुन्छ । तर भारतीय शासक बर्गले नेपाल लगायतका छिमेकी देशहरुसँगको सम्वन्धमा प्रायः तथ्यहरुलाई ढाकछोप गर्ने, अल्मल्याउने र त्यस आधारमा सम्वन्धको जुन तानबाना बुन्ने गर्दै आएको छ त्यसको एउटा प्रमुख आधार भने नेपालको लागि सन् १९५० को नेपाल-भारत मैत्री सन्धि नै रहेकोछ ।

दोश्रो कुरा नेपालको अपार जलश्रोतलाई सध्ने र दोहन गर्ने बिषय नेपाल र भारत वीच शुरुदेखिनै एउटा ठूलो बिवादको बिषय बन्ने गर्दै आएको छ । सन् १९६० को फेबु्रअरीमा तत्कालीन भारतीय बाह्य मामिला सम्वन्धि मन्त्री लक्ष्मी मेननले एक बक्तब्यमा भनेको छ- ‘‘हामी भारतीयहरु सह-अस्तित्वका धुरन्धर हिमायती छौं भनी हामी भन्दछौं । हामी जे भन्दछौं र जस्तो उपदेश दिन्छौ त्यसमा स्वयमले भने बिश्वास गर्ने गर्दैनौ । भारतीयहरु नेपाललाई उनीहरुका नदी परियोजनाहरुमा सहायता गरी ठूलो मद्दत गरेका छौं भन्ने ठान्दछन् । यसको कारण धेरैजसो भारतीय नदीहरुको उद्गम नेपालवाट भएको छ र भारतको आफ्नो फाइदाका लागि अर्थात् आफ्नो देशलाई बाढीवाट बचाउन नेपाललाई नदी परियोजनाहरुमा सहायता पुर्याइएको हो ।’’ मेननको यस यथार्थ भनाइले पनि नेपाल र भारत बीचको सम्वन्धका वास्तविकतालाई दर्शाउँछ । अहिलेसम्म भए गरिएका जलश्रोत सम्वन्धि सन्धि सम्झौताहरुले नेपालको हक हितको सुरक्षा गर्न नसकेको र बारम्बार गल्ती दोहोर्याउने गरेको कुरा पनि उठिरहेका छन् ।

भारतीय शासक बर्गले नेपाल लगायतका छिमेकी देशहरुसँगको सम्वन्धमा प्रायः तथ्यहरुलाई ढाकछोप गर्ने, अल्मल्याउने र त्यस आधारमा सम्वन्धको जुन तानबाना बुन्ने गर्दै आएको छ त्यसको एउटा प्रमुख आधार भने नेपालको लागि सन् १९५० को नेपाल-भारत मैत्री सन्धि नै रहेकोछ ।

नेपाल भारत र दक्षिण एशियाली क्षेत्रकै सम्र्पूण जनताको साझा हित र दुइ छिमेकी वीचको पारस्परिक हित तथा सम्मानलाई आँच नआउने गरी सन्धि सम्झौता गरेर जलश्रोतको समस्यालाई हल गर्नु आवश्यक छ भन्ने मान्दछ । यसका अतिरिक्त भारत नेपाल बीच बाणिज्य तथा पारबहन सन्धिका समस्याहरु पनि छन् । यसै अन्तरगत तस्करी, कालोबजारी, मुद्रा अपचलनका कुरा पनि आउँदछन् । दुइ देशका बीच बर्षौंदेखिका सीमा बिबादहरु पनि छन् । तर भारतीय शासक बर्ग ती समस्यालाई अन्तर्राष्ट्रिय मूल्य, मान्यता, परम्पराका आधारमा बैज्ञानिक किसिमले सदाका लागि हल गर्न चाहदैन बरु उल्झाएर नेपालमाथिको दबाव कायम राखिराख्न चाहन्छ भन्ने नै अहिलेसम्मको बस्तुगत यथार्थले प्रष्ट पार्दै आएकोछ । भारतीय शासक बर्गले बेला बेलामा नेपालमाथि लगाउने गरेको अप्रत्याशित नाकाबन्दीको पृष्ठभूमि यही नै हो ।

अर्को तेश्रो तर महत्वपूर्ण कुरा के छ भने भारत र पश्चिमा देशहरु चीनलाई घेराउ गर्ने एउटा अखडा नेपाललाई बनाउन चाहन्छन् भन्ने तिनका गतिबिधिहरुले प्रष्ट र जग जाहेर नै छ । पछिल्लो भारत-अमेरिका रणनीतिक साझेदारीको सम्वन्धले यसलाई अझ प्रष्ट पारेको तथा स्वयं भारतमा पनि त्यसका बिरुद्ध कुरा उठिरहेको र भारत असंलग्न आन्दोलनको धुरीबाट बिचलित भएको भन्नेसम्मको बहस यस सम्वन्धमा त्यहाँ अहिले पनि चलिरहेको वास्तबिकता पनि छ ।

यसै पृृष्ठभूमिमा भारतीय सत्ताले भारतीय हवाई उड्ड्यन असुरक्षित भएको भन्ने बहानामा नेपालमा अब एयर मार्शल राख्ने (उड्डयन सुरक्षा कर्मी सेना) कुरा प्रकाशमा आएको थियो र नेपालको यसमा सत्ता पक्ष प्रतिपक्ष दुबै तयार रहेर सम्झौता भएको भनिएको पनि थियो । यो पनि ठाडै नेपालको हित बिपरीत र सन्देहास्पद कुरा थियो र हो । तर नेपाल सरकार र प्रतिपक्ष एक अर्कालाई यस सम्वन्धमा दोषी करार गर्ने गर्दै आएका छन र आधिकारिकरुपमा वास्तबिकता के हो त्यो खुलस्त पार्ने गरेका पनि छैनन् । बेला बेलामा संसदमा पनि यो कुरा उठ्ने गरेको हुन्छ । कहिले सम्पूर्ण नेपालका बिमानस्थलहरु ‘बुट’ बिधि अनुरुप भारतले स्तर उन्नति तथा मर्मत सम्भार गर्ने कुरा आउँदछ त कहिले एयर मार्शल राख्ने कुरा जसको आजसम्म जन स्तरमा ब्यापक बिरोध हुदै अएको छ । तर सत्तामा बसिसकेका र बसिरहेका नेपालका राजनीतिक दलहरु यसमा किन प्रष्ट बोल्दैनन् त्यसले ठूलो आशंका र अबिश्वासिलो स्थिति पैदा गर्ने गरेको छ । नेपालको स्वाधीनता, सार्बभौमिकता र स्वतन्त्रतामाथि यसरी नराम्रोसँग आँच आइरहेको छ । नेपाली जनताका लागि यो बिल्कुलै असहज, अमान्य र अस्वीकार्य अबस्था हो ।

पश्चिमा शक्ति केन्द्रहरुको दाउपेचमा लागेर र संलग्न भएर भारतको भबिष्य सुरक्षित हुन सक्तैन नै उसको छिमेकी देशहरुसँगको सम्वन्धले पनि सही दिशा र गति लिन सक्तैन ।

नपाली जनता युगौंदेखि सबै देशहरुसँग, त्यसमा पनि, निकट छिमेकी देशहरुसँग सम-मैत्री, सद्भाव र सम्मानको पारस्परिक सम्वन्ध कायम गरिनु पर्दछ भन्ने मान्यता राख्दछन् । यस अधारमा चीन, भारत लगयातका छिमेकी देशहरु र अन्य देशहरुसँगको स्वतन्त्र सम्वन्ध बिकास र बिस्तार गर्न पर्ने आवश्यकता बोध पनि गर्दछन् । तर नेपाली जनताको यो न्यायोचित, जायज र सही अकांक्षालाई भारतीय सत्ताधारी बर्गले भने पटक्कै रुचाउने गरेको छैन । त्यसैले ‘नेपाल चीनको पोल्टामा गयो’ भन्ने खालको हौवा खडा गरेर नेपालले ठूलै अपराध गरेको जस्तो झुटो प्रचार-प्रसार गर्न त्यहाँका सत्ताधारी र तिनका पोषित सञ्चार माध्यमहरु अग्रसर देखिन्छन् । जबकि नेपाल र चीन बीचको सम्वन्ध नेपाल र भारत बीचको सम्वन्ध जत्तिकै पुरानो रहेको इतिहास सिद्ध तथ्य हो । कुनै बेला नेपालको सम्वन्ध बिगतमा भारतसँगभन्दा पनि चीनसँग बढी गुल्जार रहेका अनेक ऐतिहासिक तथ्यहरु पनि छन् । तर भारतीय शासक बर्ग यो कुरालाई स्वीकार गर्न र चल्न पनि पटक्कै तयार छैन ।

आज चीन बिश्व महाशक्ति बन्दैछ भने भारत पनि क्षेत्रीय महासशक्ति बनेको छ । यस स्थितिमा जसरी बिश्व एशिया जागेको हिसाबले हेरिरहेको छ त्यसलाई सार्थक रुप दिन र साकार पार्न पनि चीन र भारतको सम्वन्ध सबै स्तरमा सकारात्मक बन्नु आवश्यक छ । जसले नेपाल-चीन र नेपाल-भारत सम्वन्धलाई पनि सही र सकारात्मक दिशा दिने पृष्ठभूमि बन्न बनाउन सक्तछ । पश्चिमा शक्ति केन्द्रहरुको दाउपेचमा लागेर र संलग्न भएर भारतको भबिष्य सुरक्षित हुन सक्तैन नै उसको छिमेकी देशहरुसँगको सम्वन्धले पनि सही दिशा र गति लिन सक्तैन ।

छिमेकी देशहरुलाई अतिक्रमण, हस्तक्षेप र दबाबमा राखेर भारतीय साशक बर्गले अन्ततः आफ्नै बिनाश निम्त्याृने बाहेक अरु केही हुुदैन । त्यसैले ऐतिहासिकरुपले प्रमाणित तथ्य, सत्य र हकभोगकास साथै प्राकृति जलाधार क्षेत्र आदि सबै सबै हिसाबले नेपालको कालापानी क्षेत्र -लिम्पियाधुरा लिपुलेक सहीत कब्जा गर्ने अबाञ्ति, अनुचित र असभ्य हठबाट भारतीय शासक बर्ग पञ्छिनु र नेपाल तथा नेपालीको सम्मान गर्नु नै समस्याको सही निकास र सम्वन्ध सुधारको पनि सही बाटो हो । नेपालले आफ्नो देशको नक्शा पुनर्मुद्रित गरेकोमा त्यहाँ हो-हल्ला मच्चाउनु वास्तबिकतालाई फेरि पनि तोडमोड गर्नु र समस्यालाई अल्झाइराख्नु अनि नेपालमाथि दबाबकै निरन्तरता कायम राख्नु मात्रै हो । कम्युनिष्ट अनलाइन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया